सडक विभाग, बैतडीको सडक डिभिजनले सम्झौता अनुसार काम नगरेको तथा निर्माणमा चरम ढिलाइ र न्यून भौतिक प्रगतिका कारण २५ निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन तयारी गरेको छ। कार्यालयले ती ठेकेदारहरूलाई किन ठेक्का रद्द नगर्ने भन्ने विषयमा १५ दिनभित्र चित्तबुझ्दो र विश्वसनीय स्पष्टीकरण पेश गर्न र अविलम्ब काम सम्पन्न गर्ने विस्तृत कार्ययोजना बुझाउन निर्देशन दिएको छ। सूचनामा उल्लेख छ कि तोकिएको समयभित्र आवश्यक स्पष्टीकरण र कार्ययोजना नआएमा यो अन्तिम ताकेताको रूपमा लिइ ठेक्का सम्झौता रद्द गरिनेछ। त्यसैगरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र नियमावली, २०६४ को नियम १२८ तथा सम्झौताको सर्तअनुसार कालोसूचीमा राख्ने र अन्य कानुनी कारबाहीसमेत गरिने भएकोले ठेकेदारहरूलाई अन्तिम चेतावनी दिइएको छ। कार्यालयले पटक–पटक लिखित र मौखिक रूपमा सचेत गराउँदा पनि काममा सुधार नआएपछि यो कदम चालिएको हो। #Baitadi